युएईमा जारी टि१० लिग अन्तर्गत बेंगल टाईगर्स बिरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने महँगो साबित भएका छन् । केरला नाईट्सको लागि अन्तिम खेलमा सन्दिपले एक ओभर मात्र बलिङ गर्न पाए र त्यसमा पनि उनले २० रन खर्चिए ।
केरलाको लागि दोश्रो ओभर लिएर आएका सन्दिपले दुई वाईड र तीन छक्का गरेर कुल २० रन खर्चिए । सुनिल नारायणले सन्दिपको दोश्रो, तेश्रो र अन्तिम बलमा छक्का प्रहार गरे भने तीन बलमा सन्दिपले डट फ्याक्न सफल भए ।
सन्दिपले छ खेलमा छ विकेट हात पारे । पहिलो तीन खेलमा छ विकेट लिएका सन्दिपले पछिल्लो तीन खेलमा भने विकेट हात पार्न सकेनन् र महँगो पनि साबित भए ।
उनले पहिलो खेलमा पाक्टुन्स बिरुद्धको आफ्नो पहिलो खेलमा १७ रन खर्चिएर तीन विकेट हात पारे भने सिन्दज् बिरुद्धको खेलमा १४ रन खर्चिएर एक विकेट हात पारे । त्यस्तै सन्दिपले तेश्रो खेलमा राजपुत बिरुद्ध २३ रन खर्चिएर दुई विकेट हात पारे ।
चौंथो खेलमा सन्दिपले पन्जाबी लिजेन्ड्स बिरुद्ध कुनै विकेट हात पार्न सकेनन् भने २८ रन खर्चिए । पाँचौं खेलमा निकै महँगो साबित भएका सन्दिपले नर्दन वारियर्स बिरुद्ध ४७ रन खर्चिएका थिए ।